
दाङ,२९ पुस । थारु समुदायको महान पर्व माघी नजिकिएसँगै दाङका विभिन्न स्थानमा माघी महोत्सव लागिरहेका छन् । थारु समुदायको सबै भन्दा ठूलो पर्वको रुपमा लिइने माघी पर्वलाई पछिल्लो समय महोत्सवको रुपमा मनाउन थालिएको छ ।
पहिले पहिले परिवार र समाजमा मात्रै सीमित रहने थारुहरुको महान पर्व माघी पछिल्लो समय खुला मासमा हुन थालेपछि गैर थारुहरुले पनि माघी पर्व धुमधामका साथ मनाउन थालेका छन् ।
माघी मनाउने शैली परिवर्तन भएसँगै उनीहरुले अनुभव गर्ने मात्रै होइन थारु समुदायसँग सँगै बसेर रमाइलो गर्ने, खाने, नाच्ने समेत गर्दछन् ।
पहिले थारु समुदायसँग नजिक रहेका गैर थारु समुदायका नागरिकहरुले माघीको बारेमा थाहा पाउँथे भने थारु समुदायदेखि टाढा रहेका अर्थात थारु समुदायको बसोबास नरहेका स्थानका गैर थारु समुदायका नागरिकहरुलाई माघीको बारेमा थाहा पाउँदैनथे ।
कसैले माघीको बारेमा आफुलाई भनेपछि मात्रै थाहा पाउँथे । आजभोली भने गैर थारु समुदायका नागरिहरुको बसोबास रहेको जिल्लामा पनि माघीको बारेमा थाहा पाउने र जानकारी हुने अवस्थाको सिर्जना भएको छ । यसले गर्दा थारु र गैर थारु समुदाय सबैको लागि सकारात्मक पक्ष रहेको थारु युवा जितेन्द्र थारुले बताउनुभयो ।
माघी महोत्सवहरु भइरहेता पनि थारुहरुको मौलिक परम्परागत कला, संस्कृति संरक्षणमा भने चुनौती नै रहेको थारु बुद्धिजीवी रोहित थारुले बताउनुभयो । संस्कृति बचाउने नाममा भइरहेको माघी महोत्सवहरु औपचारिकतामा मात्रै सीमित भएरहेको कोही भन्ने उहाँको भनाइ छ ।
थारु संस्कृतिमा कतिपय विकृति पनि रहेको भन्दै विकृतिरहित संस्कृति, मौलिक कला र सभ्यता संरक्षण गर्नका लागि धेरै तयारी गरेर मात्रै माघी महोत्सवको आयोजना गरेमा वास्तविक संस्कृति झल्किने उहाँले बताउनुभयो ।