२०८१ मङ्सिर २३ गते आइतवार

तिब्रगतिमा रहेको बस चेकप्वान्टमा पनि रोकिएन : प्रहरी

दाङ, २८ पुस । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन् ।

शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो।

बस हाँकेका सल्यान त्रिवेणी गाउँपालिका- ४ का २८ वर्षीय लाल बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार चालक नेपालीले बस गुड्दागुड्दै पट्टा भाँच्चिएर चक्का नघुमेपछि अनियन्त्रित भएर नदीमा खसेको भनेका छन् ।

बस मानवीय त्रुटीका कारण दुर्घटना भयो कि प्राविधिक कमजोरीका कारण भन्नेबारे अनुसन्धान भइरहेको एसपी केसीले बताउनुभयो । उहाँका अनुसार बस तीव्र गतिमा थियो।

भालुवाङमा प्रहरीको चेकपोइन्ट छ । त्यहाँ प्रहरीले हरेक बस चेकजाँच गर्छ । शुक्रबार राति भालुवाङको चेकपोइन्टमा समेत नरोकी हुँइकिएको एसपी केसीले बताउनुभयो । ‘चेकपोइन्टमा नरोकी हुँइकिएको बस सय मिटर नपुग्दै दुर्घटनामा पर्‍यो,’ उनले भने-‘प्रारम्भिक अनुमानमा चालककै लापरबाही देखिएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर उज्ज्वलबहादुर सिंहले पनि बस तीव्र गतिमा रहेको बताउनुभयो । ‘प्रहरीले दुईवटा बस चेकजाँच गरिरहेको थियो ।’ उनले भने-‘त्यो बस नरोकी कुद्यो, पुलमा पुगेपछि अनियन्त्रित भएर खोलामा खस्यो । ’

आफूहरू पुग्दा अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा रहेको दुर्घटनाग्रस्त अवस्थामा रहेको इन्स्पेक्टर सिंहले बताउनुभयो । उहाँका अनुसार बस उल्टो परेर पल्टिएका कारण बसभित्र रहेका यात्रुहरूलाई उद्धार गर्न निकैबेर लागेको थियो ।

राति १० बजे दुर्घटना भएको बसबाट यात्रु निकाल्दा बिहानको ३ बजेको उहाँले बताउनुभयो ।

दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई,बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ वर्षीया लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ वर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ वर्षीय राहुल कुमार यादव र २० वर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ वर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका- १ का २५ को मोहमद जावेद छन् ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका २२ वर्षीय साजिव थारु , बाँकेका १८ बर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय निफख खान, डोल्पाका ३५ वर्षीया धनकली बढा, बाँकेका २० वर्षीय कोरिन्जन कोरी र बाँकेका २० वर्षीय अवाज नाउ छन्। उनीहरूको पूरा ठेगाना खुलिनसककेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ। बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ वर्षीय सुवास सार्की, रौतहटका २६ वर्षीय संजय कार्की, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ वर्षीया आज्ञा पाण्डे, ३८ वर्षीया मञ्जु शर्मा, २३ वर्षीय सन्जु बढवाल र ४५ वर्षीय राधा पाण्डे छन् ।

जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

बस चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको परिचय खुलेको छ । मृतकहरूमा बाँके नेपालगंजका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ वर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन् ।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष, ५२ वर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस