२०८१ कार्तिक २९ गते बिहिवार

अम्बिकेश्वरी मन्दिरमा संचालित महायज्ञको आम्दानी खर्च सार्वजनिक

घोराही, १६ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित धार्मिक तथा ऐतिहासिक अम्बिकेश्वरी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यसहित स्वागतद्वार निर्माणका लागि आयोजित श्रीमद वाल्मीकि राम कथा नवाह महायज्ञबाट ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको छ ।

अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्द्धन समितिको आयोजनामा गत असोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म ९ दिन संचालित महायज्ञमा कुल ४ सय २० जना दानदाताबाट सो नगद रकम संकलन भएको सोमबार मन्दिर परिसरमा अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्द्धन समिति तथा महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मुल समारोह समिति संयोजक कुमुद पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरेर दान तर्फ ३४ लाख ७५ हजार १ सय २५ रुपैयाँ र शान्ति कलश बिक्रीबाट ६३ हजार ९० रुपैयाँ गरी ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको आर्थिक संकलन समिति संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महायज्ञमा विभिन्न २२ शीर्षकमा १७ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । जसमा सबैभन्दा धेरै कलाकार पारिश्रमिक ६ लाख खर्च भएको छ भने टेन्टमा ५ लाख ४० हजार, पूजा सामग्री १ लाख ३० हजार ४ सय ५५, फ्रेम खरिद ७८ हजार १ सय ८०, पण्डित दक्षिणा ८५ हजार, कलश खरिद ४९ हजार ४ सय ३४ रुपैयाँलगायत आवश्यक शीर्षकमा खर्च भएको आर्थिक समिति संयोजक पौडेलले आम्दानी खर्च भएको जानकारी गराउनुभयो ।

महायज्ञमा संकलित आम्दानीबाट सबै खर्च कटाएर हाल १७ लाख ६३ हजार २ सय १५ रुपैयाँ वचत भएको पनि सो अवसरमा जानकारी गराईएको छ । सो रकम मन्दिर व्यवस्थापन समितिको घोराहीस्थित कुमारी बैंकमा रहेको खातामा दाखिला गरिएको पनि उहाँले बताउनुभयो ।

अम्बिकेश्वरी मन्दिरको प्रचार प्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक महत्त्व बारे जानकारी गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेको रकमबाट अब तत्कालै काम थालनी हुने बताईएको छ । मितेरी अस्पताल नजिक मन्दिरको भव्य स्वागतद्वार निर्माण गर्न मन्दिर व्यवस्थापन समिति सल्लाहकार नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सो अवसरमा, वडा अध्यक्ष अर्यालले अम्बिकेश्वरी मन्दिरको विकासका लागि वडा र पालिकाका तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । मन्दिरको गरिमालाई माथि उठाउन सबै जुटेर अघि बढ्न पनि अपिल गर्नुभयो ।

अम्बापुर खानेपानी संस्थाका अध्यक्ष बासुदेव रिजालले दाताहरुको आस्था र विश्वास कायम राख्न लक्षित काम तत्काल थालनी गर्न सुझाव दिनुभयो ।

मन्दिरको महत्त्व जनमानस तथा भक्तजनमा पुर्याउन हरेक वर्ष महायज्ञ चलाउन आवश्यक रहेको उहाँको धारणा थियो ।
स्थानीय महेन्द्र खनालले मनकारीलाई भोलिका दिनमा पनि सहयोग गर्न चाहेमा सहयोग गर्ने वातावरण बनाई राख्न सुझाव दिनुभयो ।
पत्रकार सम्मेलनमा वडाका जनप्रतिनिधि, कथा वाचक कोमल उपाध्याय, मन्दिर व्यवस्थापन समिति पदाधिकारी, महायज्ञ समिति सदस्य, स्थानीय समाजसेवीहरुको पनि उपस्थिति थियो ।

महायज्ञ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई मन्दिर व्यवस्थापन समिति एवम् महायज्ञ मुल समारोह समितिले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । पत्रकार सम्मेलनको सहजीकरण मन्दिर व्यवस्थापन समिति सचिव दामोदर भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस