दाङ, १५ पुस । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो ।
छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी जनकबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार छातीमा गोली लागेको घाउ छ । तर पोस्टमर्टम रिपोर्ट भने आउन बाँकी रहेको छ ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
उनीहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । एक प्रहरी अधिकारीका अनुसार शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको छ । त्यसैलाई बाहना बनाएर सुरूङमा लगेर हत्या गरेकोजस्तो देखिन्छ । प्रारम्भिक बयानमा पनि उनीहरूले यस्तै कुरा गरेको एक प्रहरी अधिकारीले बताए ।
शिवराजको हत्यामा प्रयोग भएको बन्दुक भने प्रहरीले फेला पारेको छैन् । शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको प्रहरीले दाबी गरेको छ । यो घटनामा क-कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको ती प्रहरीले बताए ।
शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको भन्दै प्रहरीले त्यो कोणबाट अनुसन्धान अघि बढाएको छ ।
एसपी रामबहादुर केसीले शिवराजको हत्या गरेर शव सुरूङभित्र लुकाएको हुनुपर्ने बताउनुभयो । घटनाबारे गहिरोसँग अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किनुभएको थियो । उहाँ सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो । शिवराजको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको हो ।