२०८१ माघ ८ गते मङ्गलवार

दाङमा किसानलाई वर्षभरी पुग्दैन खान

दाङ, ५ पुस । दाङमा किसानले उत्पादन गरेको खाद्यान्न किसानलाई नै पुग्ने गरेको छैन् । आधाजसो किसानको उत्पादनले उनीहरुलाई वर्षभरि खान पनि नपुग्ने रिपोर्ट कृषि गणनाले सार्वजनिक गरेको छ ।

राष्ट्रिय कृषि गणना २०७८ को रिपोर्टले दाङमा एक लाख एक हजार आठ सय ८० किसानमा ५० हजार एक सय १४ किसानलाई कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभरि खान नपुग्ने देखाएको छ ।

जिल्लामा कृषक परिवारको मूख्य आम्दानीको स्रोत भएका धेरै छन् । ६१ हजार दुई सय २८ कृषक परिवारको मुख्य आम्दानीको स्रोत नै कृषि छ तर उनीहरुलाई पनि कृषिको आम्दानीबाट वर्षभरि खान नपुग्ने देखिएको छ ।

जिल्लामा एकदेखि तीन महिना खान नपुग्ने नौ हजार सात सय ८५, चारदेखि ६ महिना नपुग्ने २० हजार नौ सय ४७, सात देखि नौ महिना खान नपुग्ने कृषक परिवार १३ हजार ४४ र १० देखि बाह्रै महिना खान नपुग्ने कृषक परिवार छ हजार तीन सय ३८ छन् ।

दाङमा खाद्यान्न बाली लगाउने ९१ हजार तीन सय ४७ किसान छन् । तरकारी बाली लगाउने पाँच हजार सात सय ८२, फलफूल बाली लगाउने एक सय ४०, नगदे बाली लगाउने एक सय, पशु पालन गर्ने तीन हजार दुई सय दुई, पंक्षीपालन गर्ने एक हजार ८६ र अन्य किसान परिवार दुई सय २३ रहेको कृषि गणनाले देखाएको छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस