दाङ, ३ पुस । दाङको तुलसीपुरमा अवैध सुन बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ३ डाडाकुटीका २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र सोही ठाँउका १९ वर्षीय रुपलाल बिश्वकर्मा रहेका छन् ।
सोमबार दिउँसो तुलसीपुर बजारमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर बहादुर बिश्वकर्माले बोकेको झोला कालो रंगको झोला भित्र रहेको प्लास्टिकको रातो रंगको बट्टामा बिल कागजातहरु नभएका सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४ वटा बरामद गरिएको छ ।
उनीहरुको साथबाट १ तोला २ दशमलव ५ लाल सुन फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नबचन्द्र मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार सुनको मूल्य १ लाख २१ हजार ९ सय ७५ रुपैंया रहेको छ ।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि बरामद गरिएको सामान सहित मंगलबार राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको प्रहरीले जनाएको छ ।