२०८१ असोज १८ गते शुक्रवार

साना किसान कृषि सहकारीले मनायो, २६ औँ वार्षिकोत्सव

दाङ, २ पुस । साना किसान कृषि सहकारी संस्था लिमिटेडले २६ औँ वार्षिकोत्सव मनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सहकारीले सोमबार विभिन्न कार्यक्रम गरी २६ औँ वार्षिकोत्सब मनाएको हो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष पूणर् शर्माको प्रमुख आतिथ्यतामा सोमबार संस्थाले २६ औँ वार्षिक साधारण सभा गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माले संस्थाको प्रतिवेदन पेस गर्नुभएको हो । यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक निर्मलकुमार शर्माले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिवेदन अनुसार सहकारीले चालु आर्थिक वर्षमा १३ करोड ५२ लाख ५८ हजार रकम लगानी गरेको छ भने खुद नाफा ५७ लाख ६८ हजार ७ सय ४८ गरेको छ ।


स्थापनको लामो इतिहास बोकेको सहकारीले सेयर सदस्यहरुको कृषि उनन्वयमा ध्यान केन्द्रीकृत गरेर कृषि उपकरण, पशु बिमा, सुलभ कर्जा, अनुदानमा बीउ तथा मलको वितरण गर्ने गरिरहेको छ ।

संस्थाले वार्षिकोत्सबको अवसरमा रजत स्मारिका प्रकाशन गरी विमोचन गरेको छ । त्यस्तै संस्थामा आवद्ध उत्कृष्ट कृषक नविना बुढामगर, उत्कृष्ट ऋणी यसोदा आचार्य, उत्कृष्ट बाल बचतकर्ता काजल शर्मा, ज्येष्ठ सदस्य विष्णुप्रसाद कुंवर लगायतहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूणर् शर्माले साना किसान सहकारी संस्थाले नेपालका बैंक तथा लघु वित्त वित्तीय संस्थाहरुले भन्दा झन्झटबिना राम्रो र भरपर्दो ढंगले सेयर सदस्यहरुलाई कर्जा सुविधा तथा अन्य कृषि औजार, उपकरण तथा बीउ बिजनमा अनुदान दिइरहेको बताउनुभयो ।

उहाँले हरेक सेयर सदस्यहरुले अब बैंकमा खाता खोल्न कुनै जरुरी नभएको बताउँदै अब सबैले सहकारीमै लगानी गर्न जरुरी भएको बताउनुभयो । उहाँले साना किसानबाटै हजारौंको संख्यामा दक्षिण कोरिया तथा इजरायलमा कृषि रोजगारीमा पठाउन उक्त देशहरुसित सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।

२०५४ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल १ हजार ५४ सेयर सदस्य आवद्ध छन् भने झण्डै २० करोडको लगानी तथा २३ करोडको सेयर पुँजी रहेको संस्थाका प्रबन्धक शरदकुमार घिमिरेले बताउनुभयो । संस्था स्थापनाको कार्यकालमा रजत स्मारिका प्रकाशन गर्ने पहिलो संस्था बनेको छ भने लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पनि पुरस्कृत भएको छ ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस