दाङ, २७ मंसिर । दाङसहित देशभर पछिल्लो समय चिसो बढ्दै गएको छ । चिसोका कारण जनजीवन प्रभावित हुन थालेको छ । दाङमा दिउँसोको तुलनामा साँझ बिहान बढी चिसो हुने गरेको छ । चिसोका कारण घर निर्माण, सडक निर्माण लगायतका ठाउँमा काम गर्ने श्रमिकहरु बढी समस्यामा परेका छन् ।
दाङको न्यूनतम तापक्रम एक अंकमा झरेको छ । पछिल्लो समय न्यूनतम तापक्रम झर्ने क्रममा रहेको छ । तीन दिनअघि २६ गते दाङको न्यूनतम तापक्रम ९ दशमलव २ डीग्री सेल्सीयस मापन गरिएकोमा बुधबार ८ दशमलव २ डीग्री सेल्सीयस रहेको थियो ।
न्यूनतम तापक्रम पछिल्लो समय निरन्तर ओरालो लागेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ । चिसो बढेसंगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दैनिक ५० बढी बिरामी चिसोका कारण बल्झिने रोगको समस्या लिएर आउने गरेका छन् ।
राप्ती प्रादेशिक अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. जीतनारायण यादवले अस्पतालमा आउने १ सय जना बिरामीमा ३० जना बिरामी चिसोका कारणले हुने समस्या लिएर आउने गरेको बताउनुभयो । उहाँले चिसोबाट बच्न तातो, झोलिलो पदार्थ खान, न्यानो कपडा लगाउन अनुरोध गर्नुभएको छ ।