२०८१ माघ ८ गते मङ्गलवार

दाङमा गर्भपतन सेवा लिनेमा २० वर्षमुनिका सातसय बढी

दाङ, २७ मंसिर । दाङमा सात हजार बढीले सुरक्षीत गर्भपतन सेवा लिएका छन् । ४० महिनाको अवधिमा सात हजार बढीले सुरक्षीत गर्भपतन सेवा सरकारी तथ्याङकले देखाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म दाङमा ७ हजार २ सय ३३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक रिता न्यौपानेले बताउनुभयो ।

गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका पनि रहेको तथ्याङकले देखाएको छ । ४० महिनाको अवधिमा सात सय ७९ जना २० वर्ष मुनिका व्यक्तिले सुरक्षीत गर्भपतन सेवा लिएका छन् । कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिएपनि अस्पतालमा गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका व्यक्ति पनि देखिएको छ ।

४० महिनाको अवधिमा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट औषधिद्धारा तिन हजार बढीले सुरक्षीत गर्भपतन लिएका हुन् । त्यसैगरी सर्जिकल विधिबाट ३ हजार बढीले सेवा लिएका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपरबाट चालु आर्थिक वर्षको चार महिनामा मात्रै ६९ जनाले सुरक्षीत गर्भपतन सेवा लिएका छन् । जसमा २० वर्षभन्दा कम उमेरका ४ जना र २० वर्ष भन्दा माथिका ६५ जनाले सुरक्षीत गर्भपतन सेवा लिएको अस्पतालले जनाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत गाइनोलोजिष्ट डाक्टर विनोद सिंहले गर्भपतन गराउनु भन्दा पनि अस्थाई साधनको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

दाङमा सुरक्षीत गर्भपतनको लागि २० वटा स्वास्थ्य संस्था सुचीकृत रहेका छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षीत गर्भपतन सेवा लिएको तथ्यांकमात्रै राख्ने गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुवरले बताउनुभयो । उहाँका अनुसार निजि अस्पतालमा भएका गर्भपतनको तथ्याङक स्वास्थ्य कार्यालयमा राख्ने गरिएको छैन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस