दाङ, २१ मंसिर । दाङ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।
उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ ।
उहाँका अनुसार आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ । मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन् ।
यसैबिच पछिल्लो समय चिसो बढ्दै गएको छ । चिसोका कारण जनजीवन प्रभावित हुन थालेको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।