तुलसीपुर, १४ मंसिर । सेतो हाफ पाइन्ट । अलि अलि फूल्न लागेको दाह्री । रातो टिसर्टमा सजिएका युवक पर्सेनी-खाद्रे सडकखण्ड अन्तर्गत पर्ने बेतन्ने खोलामा बिहिबार दिउँसो लेउ फाल्दै गरेका भेटिए ।
उनी थिए, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर निवासी उपेन्द्र पौडेल । पौडेलले खोलामा लेउ फाल्दै गरेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्थ्यो । तर उनले गरेको काम निकै प्रशंसायोग्य छ ।
लामो समयदेखि सामाजिक काममा रहेका पौडेलले बिहिबार खोलाको लेउ फाल्न व्यस्त भए । खोलामा पुल नहुँदा कच्वे निर्माण गरिएको छ ।
कच्वेमा पनि लेउ बढेर सवारी साधन दुर्घटनाको जोखिम बढेपछि पौडेल एक्लैले खोलाको लेउ फालेर सफा गरेका छन् । ‘कज्वैमा धेरै बाइक, साइकल पल्टेको आफ्नै आँखाले देखे । ’ उनले भने-‘दुर्घटनाको जोखिम बढेपछि हार्डवयर पसलमा गएर लेउ फाल्ने औजार किनेर ल्याएको थिएँ ।’
खोलामा पुल नहुँदा समस्या हुने गरेको छ । ‘हिउँदमा खोलामा लागेर दुर्घटनाको जोखिम हुन्छ ।’ उनले भने-‘वर्षाको समयमा झनै समस्या हुन्छ ।
कोरोना महामारी देखि नै पौडेल समाज सेवामा बढी ब्यस्त देखिन्छन् । कहिले ब्यक्तिगत सेवा त कहिले दान पेटिका राखि भुकम्प पिडितलाई सहयोग गरिराखेका छन् । सामाजिक असल कार्यमा उनि कसैको बाटो नै हेर्दैनन् , कार्यमा होमिहाल्छन् ।