रुकुम पश्चिम, १२ मंसिर ।
रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । मङ्सिर ७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला सोमबार सकिएको हो । सोमबार मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लागेको थियो ।
यो वर्ष एकादशीदेखि हिजोसम्म करिब १ लाख दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका जिल्लाबाट दर्शनार्थीहरू पुगेका थिए । डिग्रे मन्दिरमा वर्षैभरी पूजापाठ तथा दर्शन गर्न मिल्छ ।
त्यस्तै बोकाको बलिसमेत चढाउन मिल्छ । तर वर्षको कार्तिक हरिबोधिनी एकादशीदेखि पूणर्िमासम्मका पाँच दिनलाई विशेष दिनका रुपमा लिइन्छ । यी पाँच दिनमा विशेष महत्वका साथ पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ ।