२०८१ चैत्र ९ गते शनिवार

कोमल वली आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

दाङ, ११ मंसिर । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दीपा वलीको मङ्सिर २ गते काठमाडौँमा निधन भएको थियो । आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताउनुभयो ।

अक्षय कोषबाट दाङ जिल्लाका थारु र दलित समुदायका छात्राहरूलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताउनुभयो ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूणर् खर्च यो ट्रस्टले व्यहोर्ने छ,’ वलीले भन्नुभयो ‘आमाले पढ्न पाउनु भएन, स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’

आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उनको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरूलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताउनुभयो ।

त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतालाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने कोमल वलीले बताउनुभयो ।

दीपा वली र उहाँका श्रीमान् ललित वलीको नाममा स्थापित दीपा-ललित ट्रस्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस