दाङ, १० मंसिर । नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको छ । जिल्लामा तीन वटै प्रशासन कार्यालयबाट नागरिकताको तुलनामा पासपोर्ट लिनेको संख्या बढी देखिएको हो ।
चालु वर्षको साउन महिनामा जिल्लामा एक हजार छ सय ८५ नागरिकता वितरण हुँदा दुई हजार छ सय ३४ ले पासपोर्ट लिएका छन् । इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट पनि नागरिकताभन्दा पासपोर्ट नै बढी वितरण भएको देखिएको छ ।
तुलसीपुरबाट छ सय १४ तागरिकता वितरण हुँदा एक हजार एक सय २१ जनाले पासपोर्ट लिएका छन् । यस्तै पाँच सय ७२ नागरिकता वितरण गरेको इलाका प्रशासन कार्यालय लमहीले सात सय १५ पासपोर्ट वितरण गरेको रेकर्ड छ ।
भदौको रेकर्ड पनि त्यस्तै छ । जिल्लाका तीनवटै प्रशासन कार्यालयबाट नौ सय ७६ नागरिकता वितरण हुँदा दुई हजार तीन सय ९३ पासपोर्ट वितरण भएका छन् । असोज महिनामा पनि नागरिकता भन्दा झण्डै दोब्बर राहदानी वितरण भएको सरकारी रेकर्ड छ । जिल्लाभर एक हजार एक सय ९९ नागरिकता वितरण हुँदा एक हजार एक सय नौ पासपोर्ट वितरण भएको छ ।
गतं कार्तिक महिनामा पनि पासपोर्ट बनाउने नै धेरै भएको देखिएको छ । त्यस महिनामा एक हजार तीन सय एक नागरिकता वितरण हुँदा एक हजार चार सय २१ ज्नाले पासपोर्ट लिएका छन् । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।