२०८० फाल्गुन २१ गते सोमवार

सोनापुर सिमेन्टको दादागिरी, टेरेन स्थानीय सरकारलाई

दाङ, ९ मंसिर । सोनापुर सिमेन्ट उद्योगको दादागिरी चलेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा संचालित उद्योगले स्थानीय सरकारलाई समेत टेरेको छैन् ।

उद्योगले स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकालाई बुझाउनुपर्ने कर समेत तिरेको छैन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले सोनापुर सिमेन्ट उद्योगले स्थानीय सरकारलाई नियम बमोजिमको कर नबुझाएको बताउनुभएको छ ।

सामाजिक संजाल फेसबुक स्टाटस्मार्फत प्रवक्ता वलीले उद्योगले स्थानीय सरकारलाई कर बुझाउन अटेर गरेको बताउनुभएको हो । उहाँले उद्योग नियम विपरित संचालित हुँदा स्थानीय सरकार चुप नबस्ने चेतावनी समेत दिनुभएको छ ।

उहाँले उद्योगबाट निस्कने धुलो धुवाँका कारण आसपासका स्थानीयले खेती योग्य जमिन बाँझै छोड्नु परेको बताउनुभयो । खेती गरेपनि खानयोग्य नभएकोले स्थानीय उद्योगकै कारण निकै प्रभावित भएको उहाँले बताउनुभयो ।

वडा नम्बर १८ का अध्यक्ष समेत रहनुभएका वलीले स्थानीय नागरिकको पिडा उद्योगले सम्बोधन गर्न नसकेको बताउनुभयो । स्थानीय सरकार जहिले पनि उद्योगमैत्री भएको उल्लेख गर्दै प्रवक्ता वलीले उद्योगले दायित्व भुलिरहँदा स्थानीय सरकार चुप नबस्ने चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस