
दाङ, ६ मंसिर । दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका-५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो ।
पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।
पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बङ्गलाचुली गाउँपालिका ५ का मेघबहादुर रावतले बताउनुभयो। सुन्तला रोप्नुअघि रावतले पाखोबारीमा मकै, गहुँ, तोरी खेती गर्दै आउनुभएको थियो । ८० घरधुरी रहेको गाउँका प्रायः सबै घरका मानिसले सुन्तला खेती गरेको बङ्गलाचुली गाउँपालिका ५ का अध्यक्ष लीलाबहादुर घतीले बताउनुभयो ।
भिरालो जमिन भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न थालिएको उहाँले बताउनुभयो । पहिलेदेखि नै गाउँमा अधिकांशका घरमा एक/दुई वटा बोट भएको र ती बोटमा राम्रो फल्ने गरेकाले नै व्यावसायिक रूपमा अघि बढेको किसानसमेत रहनुभएका वडाध्यक्ष घर्ती बताउनभयो ।
वडाध्यक्ष घर्तीमगरका अनुसार पहाडी कृषि सहकारी संस्थामार्फत गाउँका किसानहरू सङ्गठितसँगै व्यावसायिक रूपमा सुन्तला उत्पादनमा लागेको बताउनुभयो । उहाँका अनुसार करिब ५० घरधुरीले व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।
किसानले जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बताउनुभयो ।