२०८१ असोज ४ गते शुक्रवार

दाङका सिमेन्ट उद्योगको विद्युत महशुल बुझाउन अटेरी

दाङ, २१ कार्तिक । दाङका सिमेन्ट उद्योगले विद्युत प्राधिकरणलाई अरबौँ विद्युत महशुलको बक्यौता बुझाउन बाँकी रहेको छ । लामो समयदेखि प्राधिकरणलाई महसुल नतिरेको प्राधिकरणले जनाएको छ ।

दाङको घोराही सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब ३६ करोड ३६ लाख ६९ हजार छ सय २३ रुपैयाँ ३२ पैसा तिरेको छैन ।

सोनापुर मिनरल्स एण्ड आयल्स प्रालिले ५६ लाख ५८ हजार तीन सय ५५ रुपैयाँ २५ पैसा अझै तिर्न बाँकी छ । लमहीको सम्राट सिमेन्टले पनि ३५ करोड ३६ हजार तीन सय ३८ रुपैयाँ २४ पैसा विद्युत बक्यौता तिरेको छैन ।

दाङका तीनवटा सिमेन्ट उद्योगको मात्रै दुई अर्ब २७ करोड ९५ लाख ५२ हजार तीन सय १६ रुपैयाँ ८१ पैसा विद्युत बक्यौता बाँकी रहेको छ । प्राधिकरणको विद्युत महसुल संकलन नियमावली, २०७८ को नियम १० को ‘विद्युत लाइन काट्नेसम्बन्धी व्यवस्था’ सिमेन्ट उद्योगलाई लागु भएको छैन् ।

मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जनुसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था नियमावलीमा छ तर घोराही सिमेन्ट उद्योगले २० महिनाको, सोनापुर सिमेन्ट उद्योगले २५ महिनाको र लमहीको सम्राट सिमेन्टले १९ महिनाको महशुल नबुझाउँदा पनि लाइन काट्न सकेको छैन् ।

सामान्य उपभोक्ताको हकमा विद्युत महसुल समयमा नतिरे प्राधिकरणले लाइन काट्छ तर जिल्लामा रहेका तीन ठूला सिमेन्ट उद्योग करोडौंको महसुल नतिरेरै सञ्चालन हुँदै आइरहेका छन् । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मंसिर ५ गरेसम्म डेडिकेटेड लाइनको महसुल बुझाउने समय दिइएकोले समय कुरेको बताउनुभयो । -नयाँ युगबोधबाट

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस