२०८१ फाल्गुन १ गते बिहिवार

लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव (तस्बिरहरु)

बुटवल, १४ कार्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ ।

पोखराबाट अन्नपूणर् बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल हुँदै ११ः३५ बजे लुम्बिनी आइपुग्नुभएको हो ।

गुटेरेसले लुम्बिनीमा झन्डै २ घन्टा बिताउनु हुनेछ । बिहान साढे ९ बजे लुम्बिनी आउने कार्यक्रम तय भए पनि अन्नपूणर् बेस क्याम्पमै ढिलाइ भएपछि महासचिवले पोखरामै खाना खाएर निर्धारित समय भन्दा २ घन्टा ढिलो लुम्बिनीमा आउनुभएको हो ।

लुम्बिनीको अशोक स्तम्भ परिषरबाट उहाँले मिडियामार्फत लुम्बिनीको विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुनुहुन्छ । यसअघि राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हृयामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डी कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपाल भ्रमणमा पहिलोपटक आउनुभएको हो । उहाँले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले १५ वर्षपछि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमण लुम्बिनी क्षेत्रकै पहिचान र महत्त्वका लागि गौरवको विषय भएको बताउनुभयो । महासचिव गुटेरेसले लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्दै दर्शन र प्रार्थना पनि गर्नुहुने भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस