दाङ, १३ कार्तिक । दाङमा दशैं अवधीमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । गत असोज २८ गतेदेखि कार्तिक १० गते शुक्रबारसम्मको अवधिमा छट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई महिला, दुई पुरुष र एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो । दुर्घटनामा परी एक सय १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ७२ वटा सवारी दुर्घटना हुँदा ८२ जना पुरुष र ३० जना महिला घाइते भएका हुन् । अन्य समयको तुलनामा चाडपर्वको समयमा सवारी दुर्घटना धेरै हुने गरेको प्रहरीले जनाएको छ ।
यसैबिच दाङमा दशैँ अवधिमा ट्राफिक नियम विपरित चल्ने ७ बढी सवारी साधनलाई प्रहरीले कार्बाही गरेको छ । नियम विपरित चल्ने मोटरसाइकल, जिप÷कार, अटोरिक्सा, बस, ट्रक र ट्याक्टरबाट ५ लाख बढी राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।