२०८१ कार्तिक २० गते मङ्गलवार

नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय

दाङ, १२ कार्तिक । पछिल्लो समय सामाजिक सञ्जालमा रुसी सेनामा नेपाली युवा भर्ना भएको बारेमा विभिन्न भिडिओ सन्देश सार्वजनिक गर्नेक्रम बढेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले यसमा सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् । रुस र युक्रेन युद्ध चलिरहँदा नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय भएको भन्दै उनीहरूले सरकारले पर्यटक भिसामा कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।


प्रलोभन अनि अफवाहको नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार दुबई र नयाँदिल्ली हुँदै नेपाली युवालाई पर्यटक भिसामा रुस पुर्‍याउन बिचौलियाहरू सक्रिय भएका छन् ।


संसद अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले पनि यसमा सरकारले उचित निणर्य लिनुपर्ने बताउनुभयो । रुसी सेनामा नेपाली युवाको भर्नाका बारेमा अनौपचारिक जानकारी आएको र यसबारेमा केही दिनमै छलफल गर्ने उहाँले बताउनुभयो ।

केही सामाजिक सञ्जाल र सार्वजनिक संचार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा परराष्ट्र मन्त्रालयले गत साउनमा ध्यानाकर्षण भएको जनाएको थियो । यसबीचमा भने मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस