दाङ, ११ कार्तिक । बडादशैँको अन्तिम दिन आज पनि मान्यजनबाट टिका थाप्ने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी समापन गरिँदैछ ।
आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
यही विश्वासका कारण आजको रात जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिन्छ । आजको दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा मात्र सकिन्छ ।
यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न ठाउँमा मेला पनि लाग्ने गर्दछ ।