दाङ, ९ कार्तिक । दशैँ मनाउनका लागि गाउँघर गएकाहरु कर्मथालोमा फर्किने क्रम शुरु भएको छ ।
विभिन्न पेशा व्यवसायमा आवद्ध नागरिकहरु दशैँ मनाएर फर्किन थालेसंगै बजारमा चहलपहल बढ्दै गएको छ ।
दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर बिजौरी, हापुरे लगाएतका बजारमा चाप बढेको प्रहरीले जनाएको छ ।
आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो नागरिकहरु कर्मथलो फर्किन थालेका छन् । यसपाली सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।
यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले विगतका वर्षको तुलनामा सार्वजनिक गाडी दुर्घटना यसपालीको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिनुभयो ।