२०८१ माघ ६ गते आइतवार

बडादशैँको नवौँ दिन : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

दाङ, ६ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । आज हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ ।

नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।

दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

यसैबिच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका हनुसारे यो वर्षको दशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत दिइएको समितिले जनाएको छ ।

कात्तिक ११ गते कोजाग्रत पूर्णीमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस