
दाङ, ३ कार्तिक । दशैँ पर्व मनाउनका लागि सहरमा रहेकाहरु धमाधम गाउँ जान थालेका छन् । सहरमा विभिन्न पेशा तथा व्यवसायमा रहेकाहरु गाउँ जान थालेपछि सहर सुनसान बन्दै जान थालेको छ भने गाउँमा चहलपहल बढ्न थालेको छ ।
दशैँतिहार महान चाड भएकाले पनि बढी महत्वका साथ सहरमा कर्मथलो रहेकाहरु जन्मथलो जाने गरेका छन् । दशैँ अवधिमा सवारी साधनमा रुट परमिटसमेत खुल्ला गरिएको छ भने घोराही, तुलसीपुर, लमही लगायतका दाङका विभिन्न मूख्य सहरबाट पनि गाउँ जाने क्रम बढेको छ ।
दाङबाट बाहिरिने र दाङ भित्रन यात्रुको एकिन तथ्यांक नभएपनि दैनिक ठुलो संख्यामा जिल्ला बाहिर जाने र जिल्ला भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले बताउनुभयो ।
दशैँतिहार जस्ता चाडपर्वमा सार्वजनिक सवारी साधनमा भिडभाड हुने हुँदा निगरानी बढाएको उहाँले बताउनुभयो । यसैबिच प्रहरीले घरमा जाँदै गर्दा सामाजिक संजालमा आफुले कोठा छोडेकोबारे नलेख्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले ‘आफु त घर लागियो भन्दै सामाजिक संजालमा पोष्ट गर्दा चोरले झनै चोरी गर्ने मौका पाउने हुँदो यस्तो पोष्ट नगर्न अनुरोध गर्नुभयो ।