दाङ, १ कार्तिक । दाङका आठ स्थानमा दशैं-तिहारलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वमा घर फर्कने र जिल्ला बाहिर जाने यात्रुलाई आवत जावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा असोज १८ गतेदेखि नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
घोराही उपमहानगरपालिकाको बसपार्क, तुलसीपुर चोक, ट्राफिक चोक, तुलसीपुरको बसपार्क, लमहीको बसपार्क, भालुवाङको बसपार्क, गढवाको कोईलाबास र अमिलियाको अमिलिया चोकमा यात्रु सहायता केन्द्र स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।
नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर जिल्लाबाट बाहिरीने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार दशैं-तिहारको समयमा विशेष गरेर यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नु भएको छ ।
नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरण सम्बन्धी सवारी चालकलाई विभिन्न सचेतनाको बारेमा जानकारी गराउने छन् । गाडीको सिट क्षमता भन्दा बढी यात्रु बोक्न तथा सामग्री हाल्न रोक लगाउने, सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने बताउनुभयो ।
त्यस्तै जिल्लाका विभिन्न स्थानमा दशैं-तिहारलाई लक्षित गरेर चौबिसै घन्टा सुरक्षागस्तीको व्यवस्थालाई कडा पारिएको उहाँले बताउनुभयो ।