२०८२ बैशाख १० गते बुधवार

दशैँ पर्व शुरु : आज घटस्थापना

दाङ, २८ असोज । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।

पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ ।

यसलाई सप्तधान्य पनि भनिन्छ । गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ ।

यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । अब हरेक बिहान देशका सम्पूणर् नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ ।
बिहान बिहान जमराको पूजा-पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् ।

यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ ।

यसवर्षको दशैँ कात्तिकमा पुगेको छ । घटस्थापनासंगै शुुरु भएको यसपटक दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ । फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन् । कोजाग्रत पूणर्िमा कात्तिक ११ गते परेको छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस