२०८१ असोज ४ गते शुक्रवार

साना किसान कृषि सहकारीले गर्‍यो, २६ औँ वार्षिक साधारण सभा

सल्यान, २५ असोज । सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिहिबार २६ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन गरेको छ ।

संस्थाका अध्यक्ष डम्बर बहादुर यरीको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भरारीको विशिष्ठ आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष पुनले सहकारी नै समृद्धिको आधार भएको बताउनुभयो । उहाँले सानो सानो पुँजी संकलन गरेर रोजगारी सिर्जना गर्ने माध्यम नै सहकारी भएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष मनिराम रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रदिप खड्का, कृषि उपज बजार कपुरकोटका संचालक समितिका अध्यक्ष तिलक शर्मा, कपुरकोट कृषि सहकारी संस्थाका प्रतिनिधि प्रेमकुमार शर्मा, बनस्पति उद्यान सल्यानका प्रमुख मित्र लाल पाठक लगायतले सहकारीका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

संस्थाका अध्यक्ष डम्बर बहादुर यरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वितेको आर्थिक वर्षसम्ममा संस्थाको कुल कारोबार २० करोड १३ लाख ८४ हजार ३२८ रहेको बताउनुभयो । यस्तै संस्थाको शेयर रकम १ करोड ६२ लाख ११ हजार पुगेको उहाँले बताउनुभयो ।

यसैगरी निक्षेप कोषमा ६ करोड ५२ लाख ५९ हजार, जगेडा कोष १ करोड १० लाख ६४ हजार, कर्जा लगानी १५ करोड ४ लाख ७३ हजार र कुल नाफा १६ लाख ३५ हजार रहेको अध्यक्ष यरीले बताउनुभयो ।

कार्यालय प्रमुख तीर्थराज शर्माले संस्थाको नीति तथा आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण संस्थाका प्रवन्धक जीतप्रसाद आचार्यले गर्नुभएको हो ।

यसैबिच नवौँ अधिवेशनबाट अध्यक्षमा पुन : डम्बर बहादुर यरी चयन हुनुभएको छ । संस्थाको बिहिबार भएको नवौँ अधिवेशनबाट यरीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरिएको हो ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस