दाङ, २५ असोज । ग्वार खोलामा पुल नबन्दा आवत-जावतमा स्थानीयलाई समस्या भएको छ । दुई जिल्ला जोड्न सडक खण्डमा पुल नहुँदा यात्रुलाई समस्या भएको स्थानीयको भनाइ छ ।
ग्वार खोलाको रोल्पा दाङ सडकखण्डको रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास क्षेत्रमा पुल नहुँदा यात्रा गर्न समस्या भएको छ ।
वर्षायाममा पानीको बहाव ठूलो हुँदा यातायातका साधन समेत चल्न नसक्ने र हिड्डुल गर्दा समेत खोला पार गर्न समस्या हुनेगरेको स्थानीय शिक्षक बाने खड्काले बताउनुभयो । खड्काले गतवर्ष खोला तर्नेक्रममा एक जनाको मृत्यु भएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा १९ का वडाध्यक्ष प्रेमनाथ योगीले सडक खण्डको तुलसीपुर क्षेत्रमा पर्ने खोला क्षेत्रमा पुल, कल्भर्ट निर्माण भए पनि रोल्पा जिल्ला रुन्टीगढी क्षेत्रमा भने पुल नहुँदा समस्या सिर्जना भएको बताउनुभयो ।
उहाँले पुल निर्माणका लागि प्राविधिक सर्भे भएको र २० मिटरको पुल आवश्यक रहेको बताउनुभयो ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले रोल्पा-दाङ सडक खण्डको सबैभन्दा छोटो सडक भएकाले त्यस क्षेत्रमा पुल निर्माण भएपछि यस क्षेत्रको व्यापार, शिक्षा, कृषि क्षेत्रमा प्रत्यक्ष लाभ मिल्ने बताउनुभयो ।
सडक खण्डको करिब २८ किलोमिटरमध्ये बिजौरीदेखि बाँसगडीसम्म करिब दुई किलोमिटर कालोपत्रे भएको छ ।
बाँसगढीदेखि कुटेचौरसम्म पाँच किलोमिटर कालोपत्रेको काम भइरहेको छ । पुल निर्माण नहुँदा वर्षायाममा बिजौरी हुँदै दहवनसम्म दैनिक बस, ट्याक्सी यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् ।
यस सडक खण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास क्षेत्रको ग्वार खोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष जनक पुनले तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाबीच संयुक्तरुपमा त्यस क्षेत्रका पुल निर्माणका लागि माग गरिएको बताउनुभयो ।
यस सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक मार्गका रुपमा अघि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।


