दाङ २३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् ।
मेचीमहाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रित चोकमा मंगलबार आयोजना गरिएको कार्यक्रममा दुवै नेता भाषण नगरी फर्किएका हुन् । भाषण सुन्ने मान्छे नै नभएपछि नेताहरु भाषण नगरी फर्किएका हुन् ।
कार्यक्रममा पार्टीका कार्यकर्ता, सुरक्षाकर्मी, र स्वयम् नेताहरू सहित करिब १ सय ५० जनाको मात्रै जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुरतर्फ लागेका हुन् ।
कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गरेकी हुन् । गाडीमा चार वटा माइक अगाडि पछाडि तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरू निराश भएका छन् ।
नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान पनि ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताईन् । ‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे ।’ उनले भनिन्-‘ यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरूलाई नेपालगञ्ज जान पनि हतार थियो ।’