२०८१ माघ ८ गते मङ्गलवार

हुलाक कार्यालय दाङमा १ करोड ६६ लाख बढी राजश्व संकलन

दाङ, २३ असोज । बितेको तीन आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालय दाङमा १ करोड ६६ लाख बढी राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि बितेको आर्थिक वर्षसम्ममा विभिन्न शिर्षकमा १ करोड ६६ लाख ३२ हजार ५१२ राजश्व संकलन भएको हो ।

आर्थिक बर्ष २०७७/०७८ मा ५७ लाख ७७ हजार ५ सय १२ रुपैंया संकलन भएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा राजस्व संकलन बढेर ५९ लाख पुगेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन घटेको छ । २०७८/०७९ भन्दा २०७९/८० मा आएर ९ लाख ७४ हजार २४२ रुपैंयाले राजस्व संकलन घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४९ लाख ५५ हजार बढी राजस्व संकलन भएको कार्यालयको तथ्याङकले देखाएको छ ।

सरकारी सम्पत्तीको वहाल, हुलाक सेवा शुल्क, र अन्य बाँडफाँडबाट राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवा हो ।

हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस