
दाङ, १८ असोज । दाङमा वैदेशिक रोजगारीको नाममा १ करोड ४४ लाख बढी ठगी भएको छ ।
चालुवर्षको दुई महिना साउन र भदौमामात्रै वैदेशिक रोजगारीमा पठाउने नाममा दलालले विभिन्न व्यक्तिबाट १ करोड ४४ लाख ८० हजार ३ सय ५० रुपैयाँ ठगेका हुन् ।
वैदेशिक रोजगारीका लागि दलालको विश्वास गर्दा दाङमा धेरै युवाहरु ठगिने क्रम बढेको छ । जिल्लाको विभिन्न स्थानबाट पछिल्लो समय ठगीका उजुरी पर्न थालेपछि दलालले लाखौं रकम ठगी गरेको तथ्य बाहिरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको बितेको २ महिनाको अवधिमा ४५ जना विभिन्न व्यक्तिबाट ठगिएका छन् । साउन महिनामा २४ जना ठगिँदा १ करोड ६ लाख ७५ हजार ३ सय ५० रुपैयाँ दलालले लगेका छन् । भदौमा २१ जना ठगिदा ३८ लाख ५ हजार रुपैयाँ दलालले लगेका छन् ।
आकर्षक तलब र काम पाईनें लोभमा परेर दलालको भर पर्दा ठूलो रकम उनीहरु ठगीमा परेका हुन् । माल्टा, क्यानाडा, फ्रान्स, अमेरिका, पोल्याण्ड जस्ता देशहरुमा आकर्षक तलब र काम दिलाई दिनेभन्दै लाखौं रकम असुली गरेर अन्तिममा दलाल सम्पर्क बिहीन हुने गरेपछि पीडितहरु न्यायका लागि प्रहरी प्रशासनमा पुगेका छन् ।
ऋण लिएर दलाललाई बुझाएको रकम फिर्ता पाउनुपर्ने, दलाललाई कारवाही हुनुपर्ने माग गर्दै उजुरी परेको वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमका सहजकर्ता रीता लामाले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपनि यसको छानबीन र न्यायका लागि प्रहरीमा पठाउने गरिएकोमा साउन १ गतेबाट जिल्ला प्रशासन कार्यालयमै उजुरीको छानवीन गरी ठगी गर्नेलाई कारवाही र पीडितलाई न्याय दिने अख्तियारी दिईएको छ ।
वैदेशिक रोजगार ठगीका समस्यालाई मेलमिलाप तथा विभागमा सिफारिस गर्ने कार्यविधि २०७९ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका वैदेशिक रोजगारको ठगी सम्बन्धी कसुर हेर्न प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइए अनुसार मुद्दा फाटमार्फत कामको थालनी भई सकेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।