दाङ, १३ असोज । दाङ भ्याली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
कक्षा १२ का छात्रा सङ्गिता बिको अध्यक्षता तथा विद्यालयका संस्थापक प्रधानाध्यापक तिलक शाहूको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक शीला अर्यालको विशिष्ठ आतिथ्यतामा स्वागत कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा विद्यालय संस्थापक प्रअ तिलक शाहूले दाङ भ्याली माविमा विद्यार्थीले संस्कारसहितको शिक्षा पाउने बताउनुभयो । उहाँले शैक्षिक योग्यतामात्रै हासिल गरेर नहुने भन्दै शिक्षासंगै संस्कारको पनि आवश्यक हुने बताउनुभयो । प्रधानाध्यापक अर्यालले दक्ष जनशक्ति उत्पादनमा दाङभ्याली माविको भूमिका अब्बल रहेको बताउनुभयो ।
कक्षा-१२ को विज्ञान समूहको छात्रा रन्जीता खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक केशर बुढाथोकी, शिक्षकहरु शरण जिएम, यज्ञ अधिकारी, कक्षा ११ का छात्रा अमृता चौधरी, रोशनी बुधाथोकी, कक्षा १२ को छात्र सर्जन बिक्रम परियार लगायतले संस्कार सहितको बिक्ने, टिक्ने र गरीखाने शिक्षाका माध्यमबाट विद्यार्थी, शिक्षक र शिक्षण संस्था मिलेर समाज रूपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।
विद्यार्थी विदेश गएर पढ्ने बहाना बढीरहेको भन्दै विदेश पलायनलाई कम गर्नतिर लाग्नु आजको आवस्यकता रहेको र राज्यले बेलैमा नसोचे भयावह अवस्था आउने वक्ताहरुको जोड छ । कार्यक्रमको सहजीकरण कक्षा १२ का छात्रा पूजा ओली र सुस्मिता बुधाथोकीले गर्नुभएको हो ।