२०८१ माघ ८ गते मङ्गलवार

लालपुर्जाका लागि गढवामा नापजाँच कार्य सुरु

गढवा, १० असोज । लालपुर्जा वितरणका लागि दाङको गढवामा नापजाँच कार्य सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ को खैरा गाँउबाट बिहिबारदेखि भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गालाई नापजाँच गर्ने कार्य सुभारम्भ भएको हो ।

गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न गरेर आज वडा नम्बर ३ मा नाप नक्सा कार्य सुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिनुभयो ।

नाप नक्सा कार्य सुरु भएपछि वर्षौ देखी लालपुर्जाबिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउंछन् । यसभन्दा पहिले गढवा गाउँपालिकाले वडा नम्बर १ र वडा नम्बर २ मा नाप नक्सा कार्य पुरा गरिसकेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनुभयो । हाल सम्म वडा नम्बर १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको छ ।

जसमा अव्यवस्थित १ हजार १ सय ५, भुमिहिन दलित ९५, भुमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ। जस्को क्षेत्रफल (हेक्टरमा) २ सय ७९ अर्थात् ४ सय १२ बिघा रहेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्बर २ मा पनि १ हजार ८ घरधुरीको १ सय ६५ हेक्टर अर्थात् २सय ४४ बिघा जमिनको २हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ। जस अनुसार अव्यवस्थित ९ सय ३८, भुमिहिन दलित १९, भुमिहिन सुकुम्बासी ५१ गरी जम्मा २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको गढवा गाउँपालिका भुमी शाखाका सञ्जित पौडेलले बताउनुभयो ।

यो आर्थिक वर्षमा नापजाँच सकाएर अरको आर्थिक बर्षमा लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

बुधबार वडा नम्बर ३ मा सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाका वडा अध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरु, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी, स्थानीयहरु लगायतकाको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस