२०८१ जेष्ठ ८ गते मङ्गलवार

सल्यानमा पूर्व प्रेमीबाटै आमाछोरीको हत्या

सल्यान, ४ असोज । सल्यानमा गत भदौ ३० मा मृत भेटीएका आमा छोरीको हत्या भएको पुष्टि भएको छ । त्रिवेणी गाउँपालिका २ झालेढुंगामा भाद्र ३० गते ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापा मृत भेटिएका थिए ।

ग्याँसचुलोबाट आगोले जलेर मृत भेटिएका भनिएका आमा छोरीको हत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँ निवासी २९ वर्षीय कणर् बहादुर बस्नेतलाइ बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

प्रेमको इगो साँध्नको लागि अभियुक्तले रेवतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीले बताए । कणर् र रेवती बीच करिब ७ वर्ष अगाडी प्रेम रहेको र बीचमा झगडा परेर छुट्टिएपछि इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले प्रहरीमा बयान दिएको डिएसपी कार्कीले बताए ।

प्रहरीकाअनुसार ७ वर्ष अघि कणर् र रेवतीको फेसबुक मार्फत चिनजान भएको थियो । त्यसबेला रेवती अविवाहित थिइन् भने कणर्को बिवाह भैसकेको थियो । फेसबुकबाट सुरु भएको उनिहरुको कुराकानी विस्तारै प्रेम र शारिरिक सम्बन्ध हुन सम्म पुग्यो । जसबेला उनिहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका थिए ।

उनिहरुको प्रेम सम्बन्ध चलिरहेकै बेला २०७५ मा कणर् रोजगारीका लागि बिदेश (दुबई) गए । त्यसपछि रेवतीले स्थानीय त्रिवेणी गाउँपालिका वडा नम्बर २ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् । रेवतीको विहे भएको विषयलाइ कणर्ले ठुलो धोका र इगोको रुपमा लिएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी कार्कीले बताए । कणर् विवाहित भएपनि रेवतीसँग दोस्रो विवाह गर्न चाहेका थिए ।

‘रेवीतको विवाह भएको २ वर्षपछि फेरि कणर् र रेवतीबीच फोन तथा फेसबुक लगायतका माध्यामबाट पुनः सम्बन्ध जोडिन पुग्छ ।’ डिएसपी कर्कीले भने, ‘तर पुरानो इगो र शारिरिक सम्बन्धका क्रममा लिइएका अश्लील तस्बिर र भिडियोका कारण मनमुटाब सुरु हुन्छ ।’ मनमुटाबको विषय बढ्दै जाँदा करिब ८ महिना अगाडीबाट कणर्ले रेवतीको हत्या गर्ने योजना बुनेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ४ महिना अगाडी रेवीतको हत्या गर्नकै लागि कणर्ले दुबईमा कम्पनीमा बिदा समेत मागेको तर कम्पनीले बिदा नपाएपछि त्यसबेला रोकिएका थिए ।

तर भाद्र २५ गते दुबईबाट बिदा पाएर भाद्र २७ गते कणर् आफ्नो घर आइपुगे । घरमा २ दिन बसी योजनाबद्ध रुपमा कणर्ले भाद्र २९ गते बसमा बसेर श्रीनगर बजारमा गइ पेट्रोल र सलाइ किनेर पैदलमार्फत राती मृतकको गाउँमा पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । श्रीनगरबाट मृतकको गाउँ पुग्न करिब २० किलोमिटरको दुरी छ । राती ९ः५० बजे मृतकको घरभित्र पसेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएको र त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्तको बयान उदृत गर्दै प्रहरीले जनाएको छ । आगो ओछ्यानमा सल्किन गइ सुतिरहेकी रेवतीकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

कणर्ले घटना घटाएर नजिकैको एकजनाको घरमा बास बसी भोलीपल्ट बिहानै आफ्नो घरतर्फ लागेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न खाले तरिकाहरु अपनाएको जनाएको छ । हत्या कणर्ले नै गरेको भन्ने निष्कर्षमा पुगेपछि मात्रै हिजो सिद्ध कुमाखको ढोरचौरबाट उनलाइ प्रहरीले पक्राउ गरेको हो । घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस