२०८१ माघ १ गते मङ्गलवार

दाङसहित देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मारमा

दाङ, ३१ भदौ । नेपाल चिकित्सक संघले दाङसहित देशभरका सरकारी तथा निजि स्वास्थ्य संस्थामा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूणर् रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो ।

देशव्यापी कार्यक्रम अन्तर्गत दाङमा पनि सरकारी र निजि दुवै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको नेपाल चिकित्कस संघ दाङका सदस्य पुष्प रिजालले बताउनुभयो । राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सबै सरकारी तथा नीजि स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस