सल्यान, २९ भदौ । जीवन ज्योति नमुना माध्यमिक विद्यालयले शुक्रबार ७१ औँ वार्षिकोत्सव तथा ५९ औँ राष्ट्रिय बाल दिवस मनाएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भरारीको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । त्यस अवसरमा गाउँपालिका अध्यक्ष पुनले विद्यालयले शैक्षिक विकासमा इतिहास बोकेको बताउनुभयो ।
उहाँले शिक्षा बिना मानव जीवनको परिकल्पना गर्न नसकिने भन्दै व्यक्ति शिक्षित भएमात्रै परिवार, समाज हुँदै राष्ट्र विकासको परिकल्पना गर्न सकिने बताउनुभयो । विद्यालयले ७१ वर्ष पुरा गर्दै गर्दा थुप्रै जनशक्ति उत्पादन भएको र आगामी दिनमा थप अब्बल बन्दै जाने उहाँको भनाई छ ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा २५ देखि नै विभिन्न कार्यक्रम संचालन गरेको थियो । वार्षिकोत्सवको अवसरमा छात्रा/छात्रको भलिबल, कबडी दौड, हाइ जम्प, लङजम्प, सट फुट, ज्याबलिन थ्रो, हिसाब दौड, चक्लेट दौड प्रतियोगिता समेत गरिएको विद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो ।
यस्तै अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता , शिक्षक कर्मचारीको अन्तर विद्यालय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता गरेको प्रअ साहुले बताउनुभयो ।
विद्यालयले शुक्रबार ७१ औँ वार्षिकोत्सव तथा ५९ औँ बालदिवसको अवसरमा प्रतियोगितामा जित हासिल गर्नेलाई पुरस्कार वितरण गरेको छ । यस्तै गंगादेवी आमा स्मृति छात्रावृत्ति, प्रेमा योगी शैक्षिक छात्रावृत्ती वितरण पनि गरिएको छ ।
यसैगरी अनुशासन, सरसफाई , पोसाक , उपस्थितिमा उत्कृष्ट ९ जना विद्यार्थीलाई सम्मान, उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मान गरिएको प्रअ साहुले बताउनुभयो ।
त्यस अवसरमा प्रधानाध्यापकबाट विद्यालएको वार्षिक प्रतिवेदन प्रस्तुति गरिएको थियो । विद्यालयका सहायक प्रअ खड्क सिंह बोहराको स्वागत मन्तव्य, सहायक प्रअ भिमसेम बुढा र विद्यार्थीको स्वागत गितबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक मदन खड्काले गर्नुभएको हो ।