२०८१ मङ्सिर २२ गते शनिवार

दाङमा मानव बेचविखनका १० वटा मुद्धा दर्ता

दाङ, २२ भदौ । दाङमा मानव बेचविखन तथा ओसारपसारका घटना बर्सेनि बढ्दै गएका छन् । कतिपय घटना प्रहरी कहाँ पुग्ने गरेका छन भने अधिकांश घटना गुपचुपमै रराखिएको पाइएको छ । पछिल्लो ४ आर्थिक वर्षमा दाङ मानव बेचविखन तथा ओसारपसारका १० वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एवम् महिला सेल प्रमुख मीरा खड्काका अनुसार आर्थिक २०७६/०७७ मा एउटा, २०७७/०७८ मा २ वटा, २०७८/०७९ मा ३ र गत आर्थिक वर्ष २०७९/०८० बढेर ४ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा ७ जना प्रतिवादी पक्राउ परेका छन् ।

उक्त घटनामा ५ जना पीडित बनेका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका मानव तस्करको प्रमुख नाकाका रूपमा रहेको छ । विभिन्न आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सो क्षेत्रमा शान्ति पुनःस्थापना गृहले काम गर्दै आएको छ ।

बितेको एक आर्थिक वर्षमा शान्ति पुनःस्थापना गृह मार्फत २३ जनाको उद्दार गरिएको छ । यसैगरी ७ सय ९५ जना महिला बालबालिकालाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध सूचना र परामर्श दिइएको शान्ति पुनःस्थापना गृह कोइलाबासका सुपरभाइजर सम्झना चदाराले बताउनुभयो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलारामका अनुसार रोजगारीका लागि भन्दै आफैले पैसा खर्चेर खाडी मुलुक पुगेका धेरैजसो महिला बेचिने गरेको छन् । समाजले पछिल्लो समय त्यस्ता समस्यामा परेकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराउने काम गर्दै आएको उहाले बताउनुभयो ।

मानव बेचविखनमा पर्नेमा सबैभन्दा बढी महिला छन् । त्यसमा पनि १५ देखि २५ वर्ष उमेर समूहका धेरै सङ्ख्या रहेको प्रहरी अध्ययनले देखाएको छ । रोजगारीको सिलसिलामा बिदेशिने महिला अक्सर यसको शिकार हुने गरेका घटना प्रहरी समक्ष आउने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस