
दाङ, २१ भदौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।
डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिनुभएको हो ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
उहाँको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुग्नुभएको छ ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुनुहुुन्छ ।