
दाङ, २० भदौ । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी हुनुभएको छ ।
बुधबार बिहान ५ बजे सम्पन्न मतगणनामा उहाँले प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् ।
निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीका अनुसार कँडेलले ४ सय ७९ मत ल्याउनुभएको छ भने रिजालले ४ सय ७७ मत ल्याउनुभएको छ । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्यै ९ सय ६५ जनाले मतदान गरेका थिए ।
अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूणर् बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित हुनुभएको छ ।
सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध चयन हुुनुभएको छ । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुनुहुन्छ ।
उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी हुुनुभएको छ । उहाँसगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याउनुभएको छ ।
अन्य दुई जनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले १ सय १० मत ल्याउनुभएको छ । चौधरी कंडेल प्यानलबाट निर्वाचन लड्नुभएको हो ।
महिला उपसचिवमा लिला रानामगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले रिजाल समूहकी वसन्ती अधिकारीलाई १ मतले पराजित गर्नुभएको छ । अधिकारीले ३ सय ५१ मत ल्याउनुभएको छ । त्यस्तै प्यानल बाहिरबाट प्रतिस्पर्धा गरेकी लुम्बिनी प्रदेशकी पूर्व कृषिमन्त्री आरती पौडेलले २ सय २१ मत ल्याउनुभएको छ ।
यस्तै लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी हुनुभएको छ । उहाँले रिजाल समूहका विष्णुराज बीसीलाई २ सय ७ मत अन्तरले पराजित गर्नुभएको हो ।
लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित हुनुभएको छ । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्लामा भूगोलबाट प्रतिनिधित्व गर्ने पद र खुल्ला पदहरुमा पनि प्रतिस्पर्धा भएको थियो ।
एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पनि कँडेल समूहकै रहेका छन् ।