२०८१ माघ २ गते बुधवार

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

दाङ, १४ भदौ । देशमा यसवर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते भएका छन् भने २० जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा देशका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका छन् ।

विपद्का घटनामध्ये बाढीमा परि १२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भए भने २१ बेपत्ता भए । यस्तै, पहिरोमा परि ३८ जनाको मृत्यु भएको छ , ४० जना घाइते र नौ जना बेपत्ता भएका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भए ।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ ।

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको तथ्याङ्क छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा चार मोटरेबल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब ४१ करोड रुपैयाँको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ वटा खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड रुपैयाँ बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ ।

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । यस अवधिमा चट्याङ लागेर ११ ठाउँ, पहिरोबाट सात, पुलमा पुगेको क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ ठाउँमा गरी देशका ३१ ठाउँमा सडक अवरुद्ध भएका थिए । अहिले देशका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेका प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस