२०८१ असोज ४ गते शुक्रवार

ललितानिवास प्रकरणमा मुछिएपछि दाङका सिडिओ जिम्मेवारीमुक्त

दाङ, १० भदौ । दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य जिम्मेवारीमुक्त भएका छन् । ललितानिवास जग्गा हिनामिनामा प्रतिवादी बनेपछि दाङमा प्रजिअको रुपमा कार्यरत सहसचिव सुशील बैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीमुक्त गरेको हो ।

उहाँलाई सिडिओबाट हटाइएको छ । मुद्दा दर्ताको जानकारी प्राप्त भएपछि वैद्यलाई निलम्बन गरिने गृह मन्त्रालयले जनाएको छ ।

२०६९-०७० मा काठमाडौंको मालपोत कार्यालय, डिल्लीबजारमा भूमिसुधार अधिकारी हुँदा वैद्यले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ ।

बयान नलिई उहाँलाई प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उहाँविरुद्ध समेत मुद्दा दायर गरेको छ एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको थियो ।

वैद्य पनि संगठित भई आपराधिक समूहको स्थापना गरी, आपराधिक समूहको सदस्य भई तहगत रूपमा जिम्मेवारी बाँडफाँट गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उहाँलाई प्रतिवादी बनाएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस