सल्यान,५ भदौ । कर्णाली प्रदेशका भुमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि अनुदान उत्पादनमा आधारित भएर दिने बताउनुभएको छ । उँहाले किसानहरुलाई ब्यवसायिक खेती प्रणाली तर्फ आकर्षित गर्न अनुदान दिने नीति सरकारको भएपनि उत्पादनमा आधारित नहुँदा उपलब्धिमूलक हुन नसकेको बताउनुभयो ।
उहाँले भान्छा कोठाबाट निस्कीएको फोहोर पानीलाई तरकारी खेतीको सिचाईका लागि सदुुपयोग गर्नु पर्ने बताउनु भएको छ । कपुरकोट गाउँपालिका बेमौषमी तरकारी खेतीका लागि प्रख्यात क्षेत्र रहेको तर सिचाई लागि पानीका अभाबका कारण सोंचे अनुसार किसानले तरकारी खेती गर्न नसकेकाले भान्छाको पानीलाई सिंचाईका लागि प्रयोग गर्नु पर्ने बताउनुभयो ।
मंगलबार कपुरकोट कृषि उपज बजार समितिले आयोजना गरेको उच्च स्तरिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कपुरकोट गाउँपालिका एक घर एक धाराको अबधारणामा अघि बढेकाले प्रत्येक घरमा साना साना सिचाई टंकी निर्माण गर्नु पर्ने बताउनुभयो ।
टंकी निर्माणका लागि राज्यका तर्फबाट आबश्यक बजेट बिनियोजन गरी किसानलाई सघाइने बताउनु भयो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले संघिय,प्रदेश तथा गाउँपालिकाबाट कृषि प्रबद्र्धनका लागि बिनियोजन गरेको बजेटलाई उपलब्धीमु्लक हुने गरेर कार्यान्वयन गरिने बताउनु भयो ।
पुनले कपुरकोटका नागरिकको प्रमुख आय श्रोत भनेकै बेमौषमी तरकारी खेती भएकाले तरकारी खेती गर्ने किसानलाई गाउँपालिकाले आबश्यक सहयोग गर्दै आएको बताउनु भयो । उँहाले कृषिका क्षेत्रमा गाउँपालिकाबाट गर्न नसकिने ठुला आयोजनाहरुलाई प्रदेश सरकारको तर्फबाट सहयोग गर्न मन्त्रीलाई अनुरोध गर्नु भयो ।
गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले यसवर्ष कृषिका क्षेत्रमा कार्यान्वयन हुने गरी केन्द्रिय,प्रदेश सरकार र गाउँपालिकाबाट २ करोड ९५ लाख २२ हजार बिनियोजन गरेको बताउनु भयो ।
बिनियोजित रकमलाई एकिकृत कृषि बिकास कार्यक्रम मार्फत न्यूनतम समर्थन मुल्य कोष,उत्पादनमा आधारित अनुदान,आधुनिक कृषि सामाग्री,बिउ बिजन बितरण तथा कृषि तालिम मार्फत किसान समक्ष पुय्राइने बताउनुभयो ।
भण्डारीले किसानले उत्पादन गरेका तरकारीलाई बजार सम्म सहज रुपमा पुय्राउन यसै बर्षबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।