दाङ, ४ भदौ । अलपत्र घोराही-तुलसीपुर फोरलेन सडक निर्माणको नयाँ प्रक्रिया थालनी भएको छ । लमही-घोराही तुलसीपुर फोरलेन योजनाको नाममा २०७५ माघ १४ गते ठेक्का सम्झौता भएको सडक निर्माण कम्पनीले अलपत्र पारेपछि २०७९ चैत २६ गते ठेक्का रद्द गरिएको थियो । त्यही सडक पुनः बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने तयारी गरिएको हो ।
सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले डिपिआरको काम गरिरहेको छ । डिपिआरका लागि कन्सल्टेन्ट परिचालन गरेको सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका सिनियर डिभिजन इन्जिनियर शिवलाल दाहालले जानकारी दिनुभयो ।
उहाँले डिपिआरको काम भइरहेको जानकारी दिदै डेड महिनाभित्रै रिपोर्ट तयार पार्ने गरी काम भइहेको बताउनुभयो । भारतीय एक्जिम बैंककै ऋण लगानीमै काम हुने तयारी थालिएको उहाँले बताउनुभयो । डिपिआर स्वीकृत भएपछि इस्टिमेट आउने र टेन्डरको प्रक्रियामा जाने उहाँको भनाई छ ।
डिपिआर गरिरहनुभएका कन्सल्टेन्ट ड्रिम जिओ ल्याबका पारस थापाले डिपिआर गर्न शुरु भएको १५ दिन भएको बताउदै डिपिआरमा सर्वेको पार्ट सकिएको जानकारी दिनुभयो । उहाँले दुई महिनाभित्र डिपिआर तयार पारेर बुझाउने गरी तयारी गरेको जानकारी दिनुभयो । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।