२०८१ चैत्र ८ गते शुक्रवार

केही दिन देशभर ठूलो पानी नपर्ने

दाङ, ३ भदौ । मनसुनी प्रणाली कमजोर हुँदा केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् ।

मौसमविद बिनु महर्जनले अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो नदेखिएको बताउनुभयो ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ ।

भोलि (सोमबार) राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविदको प्रक्षेपण छ । तर देशैभर कभर गर्ने गरी ठूलो सिस्टम आउने दुई-तीन दिनसम्मलाई देखिँदैन ।

मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ ।

मनसुनी रेखा सरदर स्थानभन्दा जति उत्तरतिर सर्यो, नेपालमा त्यति धेरै पानी पर्दछ । मनसुन निष्कृय हुँदा र बदली पनि कम भएकाले गर्मी महसुस भएको उहाँले बताउनुभयो ।

यद्यपि आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । भोलि लुम्बिनी, कणर्ाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ॥

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस