२०८१ असोज ४ गते शुक्रवार

जुम्लामा बेरोजगारलाई बाँदर धपाउने जागिर

जुम्ला, २ भदौ । जुम्लाको सिंजा गाउँपालिका-६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।

पछिल्ला पाँच वर्षमा बाँदर धेरै आउने गरेको स्थानीय चक्रबहादुर रावतले बताउनुभयो । पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६/६ महिनामा फेरिन्छन् ।

बेरोजगार युवा धेरै भएकाले चौकीदारीमा लगाएर भए पनि रोजगारी दिने गरिएको छ । दलित समुदायका युवाहरुले चौकीदारको जिम्मेवारी लिने गरेका छन् ।

यही साउन ६ गते बसेको गाउँलेको बैठकले ३४ वर्षीय प्रेमबहादुर दमाइलाई चौकीदार नियुक्त गरेको छ । उहाँले महिनामा १६ हजार ५ सय रुपैयाँ तलब पाउने गर्नुभएको छ ।

उहाँको तलबका लागि गाउँका १ सय ६५ घरधुरीले महिनामा एक-एक सय रुपैयाँ उठाउने गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस