२०८० फाल्गुन १५ गते मङ्गलवार

दाङमा जंगली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु

दाङ, १ भदौ । दाङमा जंगली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेका बंगलाचुली गाउँपालिका वडा नम्बर ६ टोड्केका २८ वर्षीया ईश्वरी सुनारको मृत्यु भएको हो ।

उहाँको उपचारको क्रममा शुक्रबार दिउँसो साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भएको छ ।

गएको २८ गते स्थानीय जंगलबाट च्याउ लिएर खाँदा मृतक इश्वरीका श्रीमान ३६ वर्षिय अजय सुनार र ११ वर्षिया छोरी अस्मिता सुनारसहित तिन जना बिरामी परेका थिए ।

२९ गते स्वास्थ्य समस्या देखिएपछि उनिहरुले बंगलाचुली अस्पतालमा उपचार गराएका थिए । त्यसपछि अवस्था बिग्रदै गएपछि उनीहरुलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।

उहाँकी ११ बर्षीया छोरी अस्मिताको बुधबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । च्याउ खाएर बिरामी भएका इश्वरीका श्रीमान् अजय सुनारको प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको पनि अवस्था गम्भिर रहेको डिएसपी गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस