काठमाडौं, २३ साउन । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताउनुभयो ।
नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५–पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था छ ।
पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ ।
५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले बताउनुभयो ।
सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने उहाँले बताउनुभयो ।
नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो ।
राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. पोख्रेलले बताउनुभयो ।
सिक्का मात्रै बोकेर बजारमा जाँदा पनि केही सामान खरिद गर्न सक्नेगरी सिक्का निष्कासन गर्नुपर्छ भन्ने राष्ट्र बैंकको योजना रहेको उहाँले बताउनुभयो ।