२०८१ जेष्ठ ५ गते शनिवार

पालिकामा औद्योगिक ग्राम घोषणामै सिमित

दाङ, १९ साउन । सङ्घीय सरकारले स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेपनि कार्यान्वयनमा आउन सकेको छैन् । दाङका दुईवटा स्थानीय तह तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा औद्योगिक ग्राम घोषणा गरिएपनि काम अघि बढ्न नसकेको हो ।

सङ्घीय सरकारले सबै पालिकामा औद्योगिक ग्राम बनाउने अभियान अन्तर्गत जिल्लामा पनि घोषणा गरिएको थियो । तर करिब ३ वर्षभन्दा पहिले औद्योगिक ग्राम घोषणा भए पनि कुनै काम अगाडि बढ्न नसकेको स्थानीय तहले जनाएका छन्। ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६ मा औद्योगिक ग्राम घोषणा गरिएको थियो । औद्योगिक ग्राम घोषणा भएपनि कुनै काम अगाडि नबढेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम न्यौपानेले जानकारी दिनुभयो । पालिकाले समेत आफ्नो तर्फबाट औद्योगिक ग्रामको काम अगाडि बढाउन सकेका छैन ।

लमही नगरपालिकाले औद्योगिक ग्राम घोषणा गरेको क्षेत्रमा तारबार गरेर संरक्षण गर्ने काम गरेको लमही नगरपालिका सूचना अधिकारी नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । लमही नगरपालिका वडा नं ७ मा औद्योगिक ग्राम घोषणा गरिएको थियो । सङ्घीय सरकारले लुम्बिनी प्रदेशका २० वटा पालिकामा औद्योगिक ग्राम घोषणा गरेको छ । सङ्घीय सरकारले पटक–पटक गरेर औद्योगिक ग्राम घोषणा गरेको हो तर कार्यान्वयन भने हुन सकेको छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घोषणा गरेको औद्योगिक ग्राम राजपत्रमा समेत प्रकाशित भएको छ । केन्द्र सरकारले महत्वाकांक्षि लक्ष्य सहित औद्योगिक ग्राम स्थापनाका लागि बजेट पठाए पनि प्रदेश र स्थानीय तहमा ठोस र व्यावहारिक योजना नहँुदा विनियोजित बजेट पनि खर्च हुन सकेको छैन् । गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस