२०८३ साउन २६ गते मङ्गलवार

वनमै कुहिन थाले काठ

दाङ, १८ साउन । दाङका सामुदायिक बनमा घाटगद्दी लगाएको काठ कुहिन थालेको छ । जिल्लाका १३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न नसकेपछि कुहिन थालेको हो । वनमा काटेर राखेको काठ तथा दाउरा बिक्री नहुँदा एकातिर काठ कुहिएर खेर जाने तथा चोरी हुने जोखिम बढेको छ ।

२०७२ देखि २०७६ सालसम्म कटान भएका २० हजार ८८० क्युफिट काठ र ४२ चट्टा दाउरा सामुदायिक वनमा घाटगद्दीमै रहेको छ । लमही नगरपालिका-९ स्थित अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनको १६३.४० क्युफिट काठ रहेको छ ।

त्यस्तै भीमबाँध महिला सामुदायिक वनको १६८०.४८ क्युफिट काठ र तीन चट्टा दाउरा, तेलिया सामुदायिक वनको १०८३.७६ क्युफिट काठ र ७.५ चट्टा दाउरा लामो समयसम्म उठ्न नसक्दा सड्ने अवस्थामा पुगेको छ ।

सोही वडाको गायत्री सामुदायिक वनमा १२४०.७६ क्युफिट गोलिया काठ र २.७५ चट्टा दाउरा, कुन्टा महिला सामुदायिक वनको ६७६.७५ क्युफिट काठ र पाँच चट्टा दाउरा, शिवशक्ति सामुदायिक वन तल्लो अमिलियामा दुई आर्थिक वर्षको गरी ९०६८.६८ क्युफिट गोलिया काठ उठ्न सकेको छैन् ।

त्यस्तै सोही वनको तीन चट्टा दाउरा, १९५६.२८ क्युफिट काठ र दुई चट्टा दाउरा, लमही नगरपालिका-८ स्थित रहेको शिवशक्ति बाख्रा सामुदायिक वन समूहमा ८७१.९६ क्युफिट गोलिया काठ र ०.५ चट्टा दाउरा अझैसम्म बिक्री हुन नसकेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सूचना अधिकारी छोटीलाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजपुर गाउँपालिकाको गङ्गदी सबडिभिजन वन कार्यालय अन्तर्गत रहेको बेलघारी सामुदायिक वनमा १८०७.८४ क्युफिट गोलिया काठ र १.५ चट्टा दाउरा, चिसापानी सामुदायिक वनमा ३१०४.४६ क्युफिट गोलिया काठ र ३.५ चट्टा दाउरा, बेला सबडिभिजन कार्यालय अन्तर्गत रहेको शङ्कर सामुदायिक वनमा १८९९.९९ क्युफिट गोलिया काठ र २.२५ चट्टा दाउरा, ज्यामिरे सामुदायिक वनमा ११०७.३४ क्युफिट गोलिया काठ र एक चट्टा दाउरा काटेको लामो समय भइसक्दा पनि उठ्न सकेको छैन् ।

गढवा गाउँपालिकाको सबडिभिजन कार्यालय अन्तर्गत रहेका खबरी सामुदायिक वनमा ४५.२२ क्युफिट गोलिया काठ र एक चट्टा दाउरा, कालिका सामुदायिक वनमा ११५.७९ क्युफिट गोलिया काठ र दुई चट्टा दाउरा धमिराले खाएको अवस्थामा छन् ।

सामुदायिक वन समूहले आन्तरिक प्रयोजनका लागि भन्दै काठ काट्ने गरेको तर उपभोक्तामा खपत हुन नसक्दा ती काठ घाटगद्दीमै अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी चौधरीले बताउनुभयो । गोरखापत्र अनलाईनमा दाङबाट लिलाधर वलीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस