दाङ,१४ साउन । दाङमा चितलकाे १७ केजी सुकुटीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय मनाेज थापा मगर, साेही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ का नुर बहादुर कुमाललाई आईतवार बेलुका साढे पाँच बजेतिर चितलकाे १७ केजी सुकुटी सहित पक्राउ गरेकाे हाे ।
तीनै जनालाई घाेराही-३ कुहिरेपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गाैतमले जानकारी दिनुभयो ।
लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलकाे सुकुटी बरामद गरिएको प्रवक्ता गाैतमले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।